अन्तर्वार्ताफोटो फिचरबक्स अफिसबलिउड / हलिउडविचारसमाचार

निर्वाचनमा पराजित भएपछि अभिनेत्री निसा भन्छिन्, मेरो प्रतिबद्धता कहिल्यै परिवर्तन हुँदैन

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले प्रतिनिधि सभा सदस्यमा हार बेहोरेकी छन् ।

ब्याट्री चुनाव चिन्हको गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नं. ५ मा उम्मेदवार बनेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेलसँग पराजित भएकी हुन् । सस्मितले २३ हजारभन्दा बढी मत ल्याउँदा निशाले एक हजार पनि मत कटाउन सकिनन् ।

चुनावमा पराजित भएपछि निशाले फेसबुक पोस्टमार्फत सस्मितलाई बधाई दिँदै चुनावको नतिजा जे भए पनि आफ्नो प्रतिबद्धता कहिल्यै परिवर्तन नहुने बताएकी छन् । उनले लेखेकी छन्, ‘हाम्रो घरदैलो संवाद जारी रहनेछ । नागरिकसँग प्रत्यक्ष संवाद गर्दै, नीति र एजेण्डामा आधारित राजनीति निर्माण गर्ने हाम्रो प्रयास जारी रहनेछ ।’

उनले आफ्नो हारलाई यात्राको समाप्ति नभइ अर्को अध्यायको सुरुवात भनेकी छन् । काठमाडौँ-५ बाट एकदिन महिला प्रतिनिधि संसदमा पुग्ने सपना अझै जीवित रहेको उल्लेख गर्दै उनले त्यो सपना पूरा गर्न आफ्नो क्षमताअनुसार निरन्तर प्रयास गर्ने अठोट व्यक्त गरेकी छन् । राजनीति आफ्नो लागि पदको यात्रा नभइ सेवा, मूल्यमान्यता र जिम्मेवारीको यात्रा रहेको उनको भनाइ छ ।

निशाले अहिलेको अवस्थामा प्रतिनिधि सभाभित्र बलियो प्रतिपक्ष कमजोर हुन सक्ने सम्भावना समेत औंल्याएकी छन् । यस्तो अवस्थामा नागरिकको आवाज जोगाउन सडकबाट बलियो लोकतान्त्रिक प्रतिपक्षको भूमिका अझ महत्वपूर्ण हुने बताउँदै उनले त्यो जिम्मेवारी आफूले निरन्तर निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button